NEWS DESK
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा उपसभापति र महामन्त्री पदका केही उम्मेदवारले अग्रता लिएका छन्। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी मतगणनाअन्तर्गत १ हजार २२९ मत गणना हुँदा खुला उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारी र खुला महामन्त्रीतर्फ प्रदीप पौडेल सबैभन्दा अगाडि देखिएका छन्।
खुला उपसभापतिका दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा भण्डारीले ६४३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी ई. मधु आचार्यले ३६२, गोविन्द भट्टराईले ३०८, सुरेन्द्रराज पाण्डेले ३०५, दीपक गिरीले २४८, धनराज गुरुङले २२३ र प्रा. डा. चन्द्र मोहन यादवले १२९ मत पाएका छन्।
उपसभापतिको समावेशी एक पदतर्फ बिनोद कुमार चौधरीले ३५७ मतसहित अग्रता बनाएका छन्। जीवन परियारले ३००, फरमुल्लाह मंसुरले १७७, सीता गुरुङले १५७ र रञ्जित कर्णले १०० मत प्राप्त गरेका छन्।
त्यस्तै, खुला महामन्त्रीका दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा प्रदीप पौडेल ७२३ मतका साथ पहिलो स्थानमा छन्। अमरसिंह पुन मगरले ४५५, उदयशमशेर राणाले ४१२, डा. सुनिलकुमार शर्माले ३०९, गुरुराज घिमिरेले १७८, नैनसिंह महरले १३५, शंकर तिवारीले १९ र डा. सन्तोष उपाध्यायले १७ मत प्राप्त गरेका छन्।
महिला महामन्त्रीको एक पदमा भने डा. डिला संग्रौला (पन्त) ले ५३६ मत पाउँदा महालक्ष्मी उपाध्याय (डिना) ले ५१३ मत प्राप्त गरेकी छन्। रीता खनालले १४७ मत पाएकी छन्। यस पदमा संग्रौला र उपाध्यायबीच प्रतिस्पर्धा देखिएको छ।
निर्वाचन समितिका अनुसार मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवारहरूको मतगणना पनि क्रमशः अघि बढाइने जनाइएको छ।