असार १५, दही–चिउरा : कृषि संस्कृति, पोषण सुरक्षा र स्वदेशी अर्थतन्त्रको आधार
NEWS DESK
Jun-29 तारिख 01:34 बेलुका

 लेखक : प्रल्हाद दाहाल

अध्यक्ष, नेपाल डेरी एसोसिएसन

नेपालको कृषि सभ्यता, मौलिक संस्कृति, खाद्य सुरक्षा, पोषण तथा ग्रामीण अर्थतन्त्रसँग अभिन्न रूपमा गाँसिएको असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानको श्रम, उत्पादनशीलता र समृद्धिको प्रतीक पर्वका रूपमा स्थापित छ। कृषि प्रधान देश नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनमा पहिलो धान खेतीको विशेष महत्व रहेको छ भने दोस्रो दुग्ध क्षेत्रको रहेको छ । कुल कृषियोग्य जमिनको ठूलो हिस्सा धान खेतीले ओगटेको छ भने लाखौँ किसान परिवारको जीविकोपार्जन धान उत्पादन र दुग्ध क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको छ। नेपाल सरकारद्वारा यस वर्षको राष्ट्रिय धान दिवसका लागि तय गरिएको “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराले कृषि क्षेत्रलाई आधुनिक, उत्पादनमुखी तथा वातावरणमैत्री बनाउनुपर्ने आवश्यकतालाई स्पष्ट रूपमा उजागर गरेको छ।

जलवायु परिवर्तनका कारण अनियमित वर्षा, खडेरी, बाढी तथा प्राकृतिक विपद्का चुनौती बढिरहेका बेला कृषि उत्पादनलाई सुरक्षित र दिगो बनाउन आधुनिक प्रविधि, उन्नत बीउ, सिँचाइ सुविधा तथा वैज्ञानिक खेती प्रणालीको विकास अपरिहार्य बनेको छ। नेपाल डेरी एसोसिएसनले स्थापना कालदेखि नै दुग्ध क्षेत्रको विकास, दूध तथा दुग्धजन्य पदार्थको उत्पादन र उपभोग वृद्धि, किसानको हित संरक्षण, पोषण सुरक्षाको प्रवर्द्धन तथा स्वदेशी उत्पादनको प्रोत्साहनका लागि निरन्तर रूपमा यस्ता कार्य गर्दै आएको छ। नेपालको दुग्ध क्षेत्र लाखौँ किसान परिवारको आय आर्जन, रोजगार, पोषण तथा ग्रामीण अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएकाले यसको दिगो विकास राष्ट्रिय समृद्धिको महत्वपूर्ण आधार हो। नेपालमा हाल दैनिक ७६ लाख लिटर दूध उत्पादन हुँदै आएको छ। दूध उत्पादनमा गाई र भैँसीपालन गर्ने किसानहरूको महत्वपूर्ण भूमिका रहेको छ। दुग्ध क्षेत्रले कृषि कुल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ भने हजारौँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ।

ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन दुग्ध क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। असार १५ मा दही–चिउरा खाने परम्परा केवल एक सांस्कृतिक अभ्यास मात्र होइन, यो कृषि उत्पादन, श्रमको सम्मान, स्थानीय उत्पादनको उपयोग, पोषण सुरक्षा र सामाजिक सद्भावको जीवन्त उदाहरण हो। खेतबारीमा दिनभरि कठिन श्रम गरेपछि दही–चिउरा सेवन गर्ने परम्पराले कृषकलाई आवश्यक ऊर्जा प्रदान गर्नुका साथै श्रमप्रतिको सम्मान, सामूहिकता र सहकार्यको भावनालाई मजबुत बनाउने काम गरेको छ।

अन्त्यमा हामी सबैले किसानको पसिना, श्रम र उत्पादनको सम्मान गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ। दही–चिउरा र मोही केवल परिकार वा पेय पदार्थ मात्र होइनन्, यी नेपाली सभ्यता, कृषि संस्कृति, पोषण सुरक्षा, आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रिय पहिचानका प्रतीक हुन्। कृषि र दुग्ध क्षेत्रको संरक्षण, प्रवर्द्धन र आधुनिकीकरणमार्फत मात्रै समृद्ध नेपालको सपना साकार हुन सक्छ। “दही–चिउराको स्वाद, स्वदेशी उत्पादनको साथ; किसान र उद्योगीको सम्मान, समृद्ध नेपालको अभियान।”असार १५, दही–चिउरा र मोही : कृषि संस्कृति, पोषण सुरक्षा र स्वदेशी अर्थतन्त्रको आधार लेखक : प्रल्हाद दाहालअध्यक्ष, नेपाल डेरी एसोसिएसन

धेरै पढिएको