NEWS DESK
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र पनौती क्षेत्रमा लगातारको मुसलधारे वर्षापछि आएको बाढीले बीपी राजमार्गमा सवारी साधन सञ्चालन रोकिएको छ।
रोसी नदीको माथिल्लो भेगमा परेको भारी वर्षाका कारण दाप्चा खोला र रोसी खोलामा आएको बाढीले पुनर्निर्माण भइरहेको बीपी राजमार्गका डाइभर्सन सडक बगाएको हो। यससँगै राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
प्रहरीका अनुसार रोसी खोलामा थप बाढी आउन सक्ने जोखिम रहेकाले यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्म यातायात सञ्चालन बन्द गरिएको हो।
बाढीका कारण चौकीडाँडा र कटुञ्जे क्षेत्रमा निर्माण गरिएका अस्थायी डाइभर्सन सडकमा उल्लेखनीय क्षति पुगेको छ। राजमार्ग बन्द भएपछि उक्त सडक प्रयोग गर्ने सवारी साधनहरूलाई धुलिखेल, काभ्रेभञ्ज्याङ, भकुन्डेबेँसी र मङ्गलटारलगायत स्थानमा रोकिएको प्रहरीले जनाएको छ।
गत वर्ष वि.सं. २०८१ को असोज दोस्रो सातामा आएको विनाशकारी बाढीले पूर्वी तराई र पहाडी जिल्लालाई जोड्ने बीपी राजमार्गमा व्यापक क्षति पुर्याएको थियो। सोही क्षतिपछि हाल काभ्रेपलाञ्चोकतर्फ चार स्थान र सिन्धुलीतर्फ एक स्थानमा पुनर्निर्माणको काम जारी रहेको छ।