NEWS DESK
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट १९ वर्षीया लुनिभा हाडा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्। उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने सबैभन्दा कम उमेरकी प्रतिनिधिमध्ये एक बनेकी छन्।
भर्खर १९ वर्ष पुगेकी लुनिभाको निर्वाचनलाई युवा पुस्ताको राजनीतिमा बढ्दो सहभागिताका रूपमा हेरिएको छ। पारिवारिक राजनीतिक वातावरणसँगै सामाजिक विकासमा योगदान गर्ने इच्छाले आफू राजनीतितर्फ आकर्षित भएको उनले बताएकी छन्।
निर्वाचित भएपछि लुनिभाले आफू खुसीसँगै थप जिम्मेवार बनेको महसुस गरेको बताइन्। “बाबा र ममी दुवैको हौसलाले मैले राजनीतिक यात्रामा पाइला हालेकी हुँ,” उनले भनिन्। कम उमेरमै पार्टीको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित हुने अवसरले आफूलाई समाज र युवाका विषयमा थप सक्रिय भएर काम गर्ने जिम्मेवारी दिएको उनको भनाइ छ।
लुनिभाका पिता रविन्द्रलाल हाडाले छोरीको सफलताप्रति खुसी व्यक्त गर्दै उनको राजनीतिक यात्राप्रति आफू आशावादी रहेको बताए। रविन्द्रलाल स्वयं पनि विद्यार्थी राजनीतिमा सक्रिय रहिसकेका व्यक्ति हुन्। उनले करिब दुई दशकअघि पब्लिक युथ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिको जिम्मेवारी सम्हालेका थिए। उनले त्रिभुवन विश्वविद्यालयमा सिनेटरका रूपमा समेत काम गरेका थिए।

छोरीले आफ्नो पदचाप पछ्याउँदै राजनीतिमा प्रवेश गरेकोमा खुसी व्यक्त गर्दै रविन्द्रलालले युवालाई अवसर प्रदान गर्दै सामाजिक विकासमा सक्रिय हुन प्रेरित गर्ने वातावरण आवश्यक रहेको बताए।
परिवारबाट प्राप्त राजनीतिक संस्कार र सामाजिक विकासप्रतिको आफ्नो रुचिले राजनीतिमा आउन प्रेरणा मिलेको लुनिभाको भनाइ छ। युवाको सहभागितालाई अर्थपूर्ण बनाउँदै सामाजिक क्षेत्रमा योगदान गर्ने आफ्नो चाहना रहेको उनले बताएकी छन्।
१९ वर्षकै उमेरमा कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित लुनिभाको राजनीतिक यात्राले नेपाली राजनीतिमा युवा पुस्ताको प्रवेश र प्रतिनिधित्वबारे नयाँ बहसलाई समेत थप बल दिएको छ।