मध्यपुर्वबाट प्रवासतर्फ पुरुषोत्तम खनालले दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
NEWS DESK
Oct-05 तारिख 07:32 बेलुका

 

काठमाडौं । विदेशमा कार्यरत नेपालीका हकहित र सुरक्षाका विषयलाई नेपाली कांग्रेसको केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउने उद्देश्यसहित नेपाली जनसम्पर्क समिति, साउदी अरबका संस्थापक पुरुषोत्तम खनालले कांग्रेसको १५औँ महाधिवेशनमा मध्यपूर्व क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

कांग्रेसले १५औँ महाधिवेशनबाट पहिलोपटक प्रवासका लागि केन्द्रीय सदस्यको प्रतिनिधित्व सुनिश्चित गर्दै कोटा छुट्याएपछि खनालले मध्यपूर्व क्षेत्रबाट उम्मेदवारी अघि सारेका हुन्।

लामो समयदेखि साउदी अरबमा रहेका नेपाली तथा प्रवासी नेपालीका मुद्दामा सक्रिय रहँदै आएका खनालले पार्टीको केन्द्रीय तहमा प्रवासी नेपालीको आवाजलाई संस्थागत रूपमा स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

“हामीले प्रवासमा कार्यरत नेपालीको हित र सुरक्षाका लागि आवाज उठाउँदै आएका थियौँ। कांग्रेसले पहिलोपटक प्रवासबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने अवसर सिर्जना गरेको छ,” खनालले भने, “यो अवसरलाई मध्यपूर्वमा रहेका नेपालीको हितमा अझ प्रभावकारी रूपमा काम गर्ने माध्यम बनाउन मैले उम्मेदवारी दिएको हुँ।”

उनका अनुसार रोजगारीका लागि खाडी मुलुक पुगेका नेपालीले भोग्दै आएका श्रम, सुरक्षा, सामाजिक संरक्षण, पारिश्रमिक, कानुनी तथा आप्रवासनसँग सम्बन्धित विषयलाई कांग्रेसको नीतिगत तहमा प्राथमिकताका साथ उठाउन आवश्यक छ।

प्रवासमा रहेका नेपालीलाई पार्टीको संगठनसँग जोड्दै उनीहरूको अनुभव, समस्या र सुझावलाई पार्टीको नीति निर्माण प्रक्रियामा समेट्नुपर्ने खनालको धारणा छ।

कांग्रेसले प्रवासलाई औपचारिक रूपमा केन्द्रीय प्रतिनिधित्वको दायरामा ल्याएसँगै विदेशमा रहेका नेपालीका मुद्दा पार्टीको केन्द्रीय राजनीतिक बहसमा थप संस्थागत हुने अपेक्षा गरिएको छ। खनालले आफू निर्वाचित भए मध्यपूर्वमा रहेका नेपालीको अधिकार, सुरक्षा र सम्मानका विषयलाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन्।

धेरै पढिएको