NEWS DESK
नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटस्थित पितौजी जंगलमा नेपालमै पहिलोपटक रुखमा बस्ने वन्यजन्तुका लागि ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ।
सडक विस्तारका कारण वन्यजन्तुको प्राकृतिक आवागमनमा अवरोध नपरोस् र उनीहरूलाई सडकमा झरेर जोखिमपूर्ण रूपमा वारपार गर्नुपर्ने अवस्था अन्त्य होस् भन्ने उद्देश्यले यो संरचना निर्माण गरिएको हो। विशेषगरी बाँदर, लङ्गुर तथा अन्य रुखमा आवतजावत गर्ने वन्यजन्तुले अब रुखको माथिबाटै सुरक्षित रूपमा सडक पार गर्न सक्नेछन्।
आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालका अनुसार नेपालमा सडक आयोजनाअन्तर्गत बाँदरलाई लक्षित गरी निर्माण गरिएको यो पहिलो क्यानोपी ब्रिज हो। यसको प्रयोग र प्रभावकारिताको अध्ययनपछि आवश्यक देखिएका अन्य वन क्षेत्रहरूमा पनि यस्ता संरचना विस्तार गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।
एसियाली विकास बैंक (एडिबी) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको ११३ किलोमिटर लामो नारायणघाट–बुटवल सडक विस्तार आयोजना अन्तर्गत सडक निर्माणसँगै वातावरण संरक्षणलाई पनि प्राथमिकता दिइएको छ। जुन २०२६ सम्म आयोजनाको समग्र भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ।
वन्यजन्तुमैत्री पूर्वाधार, हरियाली प्रवर्द्धन, सडक सुरक्षा तथा वातावरणीय प्रभाव न्यूनीकरणका अन्य उपायसँगै निर्माण गरिएको यो क्यानोपी ब्रिजलाई नेपालमा वातावरणमैत्री सडक पूर्वाधार विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।