बङ्गलादेशमा हुने १०औँ दक्षिण एसियाली सोतोकान कराँते च्याम्पियनसिपका लागि नेपाली खेलाडीलाई भव्य बिदाइ
NEWS DESK
Jul-14 तारिख 07:46 बेलुका

काठमाडौं, असार ३० l  बङ्गलादेशमा आगामी साउन १६ र १७ गते आयोजना हुने १०औँ दक्षिण एसियाली सोतोकान कराँते च्याम्पियनसिप मा सहभागी हुने नेपाली खेलाडी अजय बलोन तामाङ र सुजन तामाङ लाई सोमबार काठमाडौंस्थित दशरथ रङ्गशालाभित्र रहेको अन्तर्राष्ट्रिय मार्शल सोतोकान डोजोमा आयोजित विशेष कार्यक्रममा भव्य बिदाइ गरिएको छ।

सोतोकान परिवारले खेलाडीहरूलाई विजयको अग्रिम शुभकामना व्यक्त गर्दै नेपालको प्रतिष्ठा उच्च राख्दै उत्कृष्ट प्रदर्शन गर्न सफल होऊन् भन्ने कामना गरेको थियो।

वरिष्ठ कराँते खेलाडी अजय बलोन तामाङ नेपालका सफल अन्तर्राष्ट्रिय खेलाडीमध्ये एक हुन्। उहाँले सातौँ दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक तथा आठौँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेर नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाइसक्नुभएको छ। यसपटक पनि उहाँसँगै सुजन तामाङले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रको सम्मान बढाउने विश्वास व्यक्त गरिएको छ।

बिदाइ कार्यक्रममा सोतोकानका वरिष्ठ गुरु तथा केन्द्रीय टिमका धिर्जमान तामाङ ले खेलाडीहरूलाई अनुशासन, समर्पण र निरन्तर मेहनत नै सफलताको आधार भएको बताउनुभयो। उहाँले राष्ट्रका लागि खेल्ने अवसरलाई गौरवका रूपमा ग्रहण गर्दै खेलको नियमको पूर्ण पालना, जिम्मेवारीबोध र उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै सोतोकान केन्द्रीय टिमका धिरज उपरकोटी ले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जाने नेपाली खेलाडीहरूले आफ्नै खर्चमा यात्रा, बसोबास र प्रतियोगितासम्बन्धी सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने अवस्था अत्यन्त दुःखद रहेको बताउनुभयो।

उहाँले दक्षिण एसियाली स्तरमा पटक–पटक पदक जितेका खेलाडीसमेत राज्यको पर्याप्त सहयोगबाट वञ्चित हुनु गम्भीर विषय भएको उल्लेख गर्दै राष्ट्रको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउने खेलाडीहरूलाई आवश्यक लगानी, संरक्षण र प्रोत्साहन उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभयो।

"राष्ट्रका लागि खेल्ने खेलाडीहरू आफ्नै खर्चमा विदेश पुगेर नेपालको झण्डा फहराउन बाध्य हुनु उचित होइन। खेल क्षेत्रलाई प्राथमिकतामा राख्दै सरकारले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक छ," उहाँले भन्नुभयो।

बिदाइ कार्यक्रममा दिलेन्द्र बैधे, बुद्धराज नेगी, ऋषि लामा, प्रकाश श्रेष्ठ, रामनारायण, बिकबहादुर थामी, महमद आलम, पञ्च लामा, प्रेम सिंह, दीपक बराली लगायत प्रशिक्षक, खेलाडी तथा सोतोकान परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

धेरै पढिएको