NEWS DESK
फिफा विश्वकप २०२६ मा अर्जेन्टिनालाई पुनः फाइनलसम्म पुर्याएका कप्तान लियोनेल मेसीको अन्तर्राष्ट्रिय यात्रा कुनै योजनाबद्ध प्रक्रियाबाट होइन, बरु एउटा साधारण भिडियो क्यासेट र केही संयोगपूर्ण घटनाबाट सुरु भएको थियो। आज विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिने मेसी एक समय अर्जेन्टिनाको राष्ट्रिय टोलीसम्म पुग्ने अवसर नै गुम्न सक्ने अवस्थामा थिए।
सन् २००१ मा १२ वर्षको उमेरमा मेसी परिवारसँग स्पेनको बार्सिलोना पुगेका थिए। बार्सिलोनाको प्रतिष्ठित युवा एकेडेमी ‘ला मासिया’मा उनले आफ्नो असाधारण प्रतिभा देखाउन थाले। त्यही प्रदर्शनपछि स्पेनिस फुटबल महासङ्घले उनलाई भविष्यमा स्पेनको राष्ट्रिय टोलीबाट खेलाउने प्रयास गरिरहेको थियो। उनका प्रशिक्षक, सहकर्मी र फुटबल अधिकारीहरूले समेत उनलाई स्पेन रोज्न सुझाव दिएका थिए। तर मेसीको चाहना भने सुरुदेखि नै स्पष्ट थियो— उनी अर्जेन्टिनाको जर्सी लगाएर खेल्न चाहन्थे।
मेसीका बुबा जर्ज मेसी र एजेन्ट होरासियो गागियोलीले त्यसपछि उनको उत्कृष्ट प्रदर्शन समेटिएको एउटा भीएचएस (VHS) भिडियो क्यासेट तयार पारे। उक्त क्यासेट अर्जेन्टिनाको राष्ट्रिय टोलीका सहायक प्रशिक्षक क्लाउडियो भिभाससम्म पुर्याइयो, जसले त्यसलाई तत्कालीन मुख्य प्रशिक्षक मार्सेलो बिएल्सालाई देखाएका थिए। भिडियो हेर्दै बिएल्साले खेलको गति नै अस्वाभाविक लागेको भन्दै सामान्य गतिमा चलाउन भनेका थिए। त्यसपछि उनलाई त्यो वास्तविक गति नै भएको जानकारी दिइएको थियो।
यद्यपि, त्यतिबेला अर्जेन्टिनाको यू–१७ टोलीको छनोट प्रक्रिया पूरा भइसकेकाले मेसीलाई सन् २००३ को विश्वकप टोलीमा समावेश गर्न सम्भव भएन। प्रतियोगितामा अर्जेन्टिना सेमिफाइनलमै स्पेनसँग पराजित भयो। त्यसपछि भएको एक रात्रिभोजमा स्पेनका एक सेफले अर्जेन्टिनाका प्रशिक्षक ह्युगो टोकालीलाई भनेका शब्दले सबैको सोच बदलिदियो— यदि बार्सिलोनामा रहेका मेसी टोलीमा भएको भए अर्जेन्टिना विश्वविजेता बन्न सक्थ्यो।
त्यसपछि अर्जेन्टिना फुटबल एशोसिएशन (AFA) ले मेसीलाई खोज्ने अभियान नै सुरु गर्यो। त्यतिबेला सामाजिक सञ्जाल वा सजिलो इन्टरनेट पहुँच थिएन। टोलीका व्यवस्थापक ओमार साउतोले रोजारियोको टेलिफोन डाइरेक्टरीमा ‘मेसी’ थर भएका परिवारहरूलाई एकपछि अर्को गर्दै फोन गरे। धेरै प्रयासपछि उनी मेसीको परिवारसम्म पुग्न सफल भए।
फोनमा सम्पर्क भएपछि मेसीका बुबा जर्जले राहतको सास फेर्दै भनेका थिए, “अन्ततः!” त्यही एउटा फोन कलले मेसीको अन्तर्राष्ट्रिय फुटबल यात्रा औपचारिक रूपमा सुरु गरायो।
त्यसपछि मेसीले अर्जेन्टिनाका सबै उमेर समूह हुँदै सिनियर टोलीमा स्थान बनाए। उनले कोपा अमेरिका र सन् २०२२ को फिफा विश्वकप जिताउँदै अर्जेन्टिनाको इतिहासकै सबैभन्दा सफल खेलाडीमध्ये एकको स्थान सुरक्षित गरे। आज विश्वकप २०२६ मा पनि अर्जेन्टिनालाई फाइनलसम्म डोर्याइरहेका मेसीको यात्राको सुरुवात भने एउटा साधारण भिडियो क्यासेट, केही फोन कल र आफ्नो देशप्रतिको अटल समर्पणबाट भएको थियो।