NEWS DESK
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज आयोजक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। युट्रेचस्थित स्पोर्ट्सपार्क मार्सचल्करविर्ड मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।
नामिबियासँग पहिलो खेलमा ८ विकेटको हार बेहोरेपछि नेपाल आजको खेल जित्दै सिरिजमा सशक्त पुनरागमन गर्ने योजनामा छ। लिग–२ को अंक तालिकामा आफ्नो अवस्था सुधार गर्न पनि नेपालका लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ।
नेपालले यस सिरिजमा अझै दुई खेल खेल्न बाँकी छ। टोलीले साउन ११ गते नामिबियासँग पुनः प्रतिस्पर्धा गर्नेछ भने साउन १३ गते नेदरल्यान्ड्ससँग दोस्रो भेट हुनेछ।
हाल लिग–२ को अंक तालिकामा नेपाल २८ खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा छ। समान २८ खेलबाट ३२ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा रहेको छ भने २४ अंक भए पनि रनरेटका आधारमा नामिबिया सातौँ स्थानमा छ।
तालिकाको शीर्ष स्थानमा अमेरिका ३२ खेलबाट ४३ अंकसहित रहेको छ। स्कटल्यान्ड ३८ अंकसहित दोस्रो, ओमान ३१ अंकसहित चौथो, क्यानडा २४ अंकसहित छैटौँ तथा २४ खेलबाट १४ अंक जोडेको यूएई आठौँ तथा अन्तिम स्थानमा रहेको छ।
विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान सुरक्षित गर्न नेपालले लिग–२ को शीर्ष चारभित्र रहनुपर्नेछ, जसका लागि बाँकी खेलहरूमा जित अनिवार्यजस्तै बनेको छ। यद्यपि, एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता कायम राख्न भने शीर्ष ६ भित्र रहन सके पुग्ने प्रावधान रहेको छ।